‘पीसीआर गर्न नमानेको भनेर हाम्राविरुद्ध एकतर्फी रुपमा गलत हल्ला फैलाए – मोहन बस्नेत

19

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दुःखद घडीमा आफूमाथि षडयन्त्र भएको आरोप लगाएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको बुबा खड्गबहादुरको मृत्यु भएपछि मृतकको स्वाब संकलन गरी परीक्षण गराउँदा कोरोनाको रिपोर्ट नेगेभिट आएको थियो ।

मृतकमा कोरोना संक्रमण नदेखिएको भन्दै अस्पतालले शव परिवारलाई जिम्मा लगाएपछि गृह जिल्ला सिन्धुपाल्चोक पुर्याएर अन्त्येष्टि गरेका थिए । तर, ६ दिनपछि फेरि मृतकमा कोरोना पोजिटिभ देखिएको रिपोर्ट अस्पतालले साउन २७ गते दिएको थियो । पीसीआर गर्न नमानेको भनेर आफूहरुविरुद्ध विभिन्न आरोप लगाएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

‘पीसीआर गर्न नमानेको भनेर हाम्राविरुद्ध एकतर्फी रुपमा गलत हल्ला फैलाए, यो सरासर गलत छ’ उनले भने, ‘हामी हाम्रो तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार छौं । तर गलत हल्लाप्रति ध्यान नदिन आग्रह गछौं ।’ उनका पिता खडगबहादुरको उपचारका क्रममा काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियो तथा भाष्कुलर ट्रान्सप्लान्ट सेन्टरमा साउन २२ गते राति निधन भएको थियो ।

मृतक बस्नेतको नसाको उपचार गराइरहेको बेला रक्तसंचार बन्द भएको जानकारी अस्पतालले दिएको र अन्त्यमा दुवै मृगौलाले काम गर्न छाडेको जनाएर चिकित्सकले मृत घोषित गरेको बस्नेतले जानकारी दिए । करीब दुई महिनाअघि नसा सम्बन्धी उपचारकै क्रममा चिकित्सककै सल्लाह अनुसार मृतकको खुट्टा काटिएको थियो । काट्नुअघि गरिएको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । तर स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ६ दिनपछि मृतकमा कोरोना पोजिटिभ देखिएको रिपोर्ट अस्पतालले साउन २७ गते दिएको थियो ।

मृतकमा कोरोना पोजेटिभ देखिएपछि बाह्रबिसे नगरपालिकाले पलाँती लगायत वडा नं. २, ३ र ९ को निश्चित क्षेत्र सिल गरेको छ । बाह्रबिसे नगरपालिकाकी उप–प्रमुख सुशिला पाख्रिनले २७ गते एक प्रेस विज्ञप्ति जारी गरी मृतक बस्नेतको अन्त्येष्टिमा सहभागी र सम्पर्कमा पुगेका सबैलाई कोरोना परीक्षण गर्न तथा घरमै क्वारेन्टिनमा बस्न आग्रह गरेकी थिईन । तर, नेता बस्नेतले भने पिताको निधनमा पनि विपक्षीहरुले राजनीति गर्न खोजेको आरोप लगाए ।

मृतकमा कोरोना संक्रमण भएन भएको यकिन नभईकनै शव बुझ्न दबाब दिएको बताउँदै उनले स्वाब संकलनको ६ दिनपछि मात्र रिपोर्ट दिनुमा ठूलो षडयन्त्र लुकेको बताए । अत्येष्टिमा सहभागी र छिमेकीहरुलाई पीसीआर गराउन असहयोग पुर्याएको अफवाह विपक्षीहरुबाट नियोजित रुपमा फैलाइएको बस्नेतको भनाई छ ।

स्वास्थ्य परीक्षण गर्ने कार्यमा आफूबाट कहीँकतै पनि असहयोग पुर्याउने काम नभएको र बरु परीक्षणको नाममा आफ्ना कार्यकर्तालाई स्वाब टेस्टको नाममा अनावश्यक दुःख दिइरहेको उनले बताए । नेता बस्नेतले १३ दिन पूरा भएपछि मात्र आफूहरुको पीसीआर परीक्षणका लागि आउन समेत उनले आग्रह गरे । अस्पतालले दुई दिनमै दिनुपर्ने कोरोना रिपोर्ट निधनको ६ दिनपछि मात्र दिएको भन्दै उनले आपत्ति जनाए । साथै कोरोना संक्रमणबारे नगरपालिका उप–प्रमुखबाट विज्ञप्ति आएकोप्रति पनि उनले गुनासो पोखे ।

समाचार वर्गहरू