(काठमाडौं) – लकडाउन सुरु भएयता सरकारले एक अर्ब रुपैयाँभन्दा बढीको राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका असंगठित मजदुर, अपांगता भएका व्यक्ति तथा विपन्न वर्गलाई राहत वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यस अवधिमा १० लाख ७५ हजारजनालाई राहत वितरण गरेको विवरण स्थानीय तहबाट आएको मन्त्रालयको भनाइ छ । ‘१० लाख ७५ हजारले राहत पाइसकेका छन् । त्यसमा ठ्याक्कै कति खर्च भयो भन्ने विवरण आउँदै छ, एक अर्बभन्दा अलि बढी खर्च भएको भन्ने छ,’ संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भनेको खबर आजको नयाँ पत्रीका दैनिक मा छापिएको छ ।
सरकारले स्थानीय तहमार्फत राहत वितरण गर्दै आएको छ । ग्रामीणभन्दा सहरी क्षेत्रमा धेरै राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सरकारले राहत लिन आउनेलाई रोजगारीमा लगाउन थालेको छ । स्थानीय तहले विकास निर्माण तथा सरसफाइका काममा लगाएर उनीहरूलाई श्रमको ज्याला दिने गरेको छ । श्रम गर्न नसक्नेलाई भने श्रम गर्नेले पाउने राहतको २५ प्रतिशत मात्र दिइने राहतका लागि रोजगारीसम्बन्धी मापदण्डमा उल्लेख छ । दर्जनौँ स्थानीय तहले यसलाई कार्यान्वयनमा लगिसकेका छन् ।