धनुषा – दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा धनुषामा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ धनुषाको ढल्केवरमा भएको दुर्घटनामा ज ९ प ९८५९ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका–३ हरियरपुरका २० वर्षीय दीपकुमार महतोको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटमा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
उनीहरु दुवैको ढल्केवरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीनै वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।