दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार : मन्त्री पुन

21
फाइल फोटो

रोल्पा – ऊर्जा, जलस्रो तथा सिँचाइ मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुनले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् ।

रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सव-स्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका हुन् ।

मन्त्री पुनले भने, ‘दुबै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’

मन्त्री पुनले युवालाई नेतृत्व हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा आएर गर्ने नभई विधिसम्मत ढंगले टुंगो लगाउनु पर्ने र आफूहरु त्यसका लागि तयार रहेको बताए । ‘यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय हो,’ उनले भने ।

नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले सत्तारूढ पार्टीको बहस भएकाले यस्तो भएको बताए । जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने उनले बताए ।

‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ । हामी त्यसमा जान दिँदैनौ । संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने, ‘पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ । यसले पार्टीलाई  नयाँ ठाउँमा पुर्‍याउँछ । ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं ।’

समाचार वर्गहरू