काठमाडौँ – सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकहरू लाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतको गेटबाट स्वचालित हतियारसहित पक्राउ परेका दीपक खड्का र रामकुमार धिमाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ मा सर्वोच्च प्रवेश गर्ने क्रममा पक्राउ परेका प्रसाईंका अंगरक्षकद्वय खड्का र धिमाललाई तत्काल थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको हो ।
जर्मनीमा बनेको स्वचालित हतियार र त्यसमा लाग्ने १०० थान गोलीका साथै चार थान म्यागेजिन सहित पक्राउ परेका खड्का र धिमालविरुद्ध निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसूरमा जरूरी पक्राउ पूर्जी जारी गरी प्रहरिले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
प्रहरीको उक्त कार्य गैरकानुनी भन्दै सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।