काठमाडौं – दुर्लभ वन्यजन्तु सुनगोहोरो सहित काठमाडौंबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिका-६ बस्ने २१ वर्षीय विशाल तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय सुवास तामाङ रहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट करिब १.५ इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तु सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका मोहन तामाङको कोठामा दुर्लभ वन्यजन्तु बिक्री गर्ने उद्देश्यले लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
हाल फरार मोहनको प्रहरीले खोजी गरिरहेको छ । उक्त वन्यजन्तु आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।