काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जबाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधिसभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो।
विशेष गरी कुलमानलाई हटाएकोमा माओवादी केन्द्र आक्रोशित छ। कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जबाफ नआएसम्म संसद् चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि प्रचण्डको चेतावनी छ।
संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद्बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन्।