काठमाडौं – देउराली सहकारीका कार्यकारी अध्यक्ष रवीन्द्रप्रसाद चौलागाईंले संस्थाको रकम हिनामिना गरी ६५ स्थानमा एक सय ३ रोपनी जग्गा जोडेको फेला परेको छ । उनले सहकारीमा सर्वसाधारणको पैसा डुबाएर करोडौँको निजी जग्गा जोडेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा पुष्टि भएको हो ।
गत साता जेल चलान भएका चौलागाईंको ती सबै जग्गा प्रहरीले रोक्का राखेको छ । आफ्नो र परिवारको नाममा उनले जग्गा खरिद गरेका हुन् । जग्गा कारोबार खस्किएसँगै उनको सहकारी धराशयी बनेको हो । सिआइबीका अनुसार चौलागाईंले आफ्नो नाममा मात्र २० स्थानमा ५३ रोपनी जग्गा जोडेका छन् ।
श्रीमती पूजा खत्री र उनको संयुक्त नाममा दुई स्थानमा चार रोपनी, श्रीमती पूजाको नाममा २१ स्थानमा आठ रोपनी, दीपक केसीको नाममा १० स्थानमा ६ रोपनी जग्गा खरिद गरेका थिए । त्यस्तै, जेठान राजेन्द्र खत्रीको नाममा १७ स्थानमा २८ रोपनी र मनोज भण्डारीको नाममा तीन स्थानमा तीन रोपनी जग्गा खरिद गरेको भेटिएको छ । सहकारीको पैसा हिनामिना गरेर त्यसरी जग्गा खरिद गरी त्यही जग्गा बैंकमा धितो राखेर उनले कर्जासमेत लिएका थिए ।
बैंकको कर्जासमेत उनले तिरेका छैनन् । ललितपुरको लामाटार, नंखेल, हरिसिद्धि, सैँबु, सुनाकोठी, खोकना, धापाखेललगायत क्षेत्रमा उनको धेरै जग्गा छ । त्यस्तै, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको मध्यपुर ठिमी, झापाको शिवगन्ज र काभ्रेको पाँचखालमा पनि उनले जग्गा खरिद गरेका थिए ।
सहकारीका ठूला निक्षेपकर्तालाई यिनै जग्गा दिएरसमेत उनले फकाउँदै आएका थिए । थ्री बदर्स मार्केटिङ, पूजा ट्रेड इन्टरनेसनल, देउराली प्रपर्टिज्, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, पिआरपी ट्रेडिङ, करिअर मार्केटिङ, आरके मोटर्स, एसडी एग्रिकल्चरलगायत २४ कम्पनी खडा गरी तीनै कम्पनीको नाममा जग्गा खरिद गरेर बैंकबाट कर्जा लिएको सिआइबीले जनाएको छ । सहकारीकै रकमबाट टोयोटाको ल्यान्डक्रुजर गाडीसमेत खरिद गरेकोमा त्यो गाडी प्रहरीले बरामद गरेको छ ।
ललितपुरको सातदोबाटोमा १० वर्ष अघिदेखि देउराली सहकारी चलाउँदै आएका उनले विगतमा जग्गाको कारोबारबाट पैसा कमाएकोमा कोभिड महामारीपछि समस्यामा परेका थिए । संस्थाको रकम नियमविपरीत निजी जग्गामा लगानी गरी मुनाफा कमाउन खोज्दा उनले सहकारीसमेत डुबाए । जसमा सिआइबीले चौलागाईंसहित तीनजनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । उनीसहित पक्राउ परेका दीपक केसी र राजेन्द्र खत्रीलाई जिल्ला अदालत ललितपुरले गत साता थुनामा पठाएको छ ।
प्रहरीले रवीन्द्रकी श्रीमती पूजासहित ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । मुद्दा दायर हुने अन्यमा महेश देउला, मनोज भण्डारी, मनोहर बस्नेत, आशालाल महर्जन, सुमन महर्जन, अस्मिता खत्री, गोवर्धन थापा, राजु महर्जन, नारायणमौसक कुँवर र विकास महर्जनलाई फरार प्रतिवादीका रूपमा ठगी र संगठित अपराधसम्बन्धी कसुरअनुसार मुद्दा दायर गरेको हो । संस्थामा दुई अर्ब ५५ करोड निक्षेप देखिए पनि ६६ करोडको मात्र जाहेरी परेपछि त्यहीअनुसार प्रहरीले बिगो कायम गरी मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेपछि पनि थप जाहेरी आइरहेको र त्यस विषयमा अनुसन्धान भइरहेको सिआइबीका एसपी नवराज अधिकारीले बताए । नयाँपत्रिका दैनिक