काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार विभिन्न विभागमा उपप्रमुख, सचिव, सदस्यहरुसहित ४ सय ५७ जनालाई मनोनयन गरेका हुन् ।
संगठन विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, मुस्लिम विभाग,तराई–मधेश समन्वय विभाग,संघीय मामिला तथा प्रदेश समन्वय विभाग, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, स्थानीय तह समन्वय विभाग र निर्माण व्यवसायी समन्वय विभाग विस्तार गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । कतिपय विभागहरुको प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् ।यसअघि देउवाले महिला विभागमा पदाधिकारी र सदस्य गरी ३८ जनालाई मनोनयन गरी सकेका थिए । यस्तै पौडेलका अनुसार देउवाले यसअघि जेष्ठ १७ गते तरुण विभाग र २८ गते खेलकूद विभाग विस्तार गरेका थिए ।
संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । सचिवमा झापाका विनकुमार विश्वकर्मा तोकिएका छन् । संगठन विभाग ४१ सदस्यीय छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन आचारसंहिता तथा विधान विपरीत निर्णय र मनोनयन भइरहेको भन्दै विरोध जनाईरहेको बेला देउवाले बेवास्ता गर्दै विभाग विस्तार गरेका छन् । देउवाले गत फागुन तेस्रो साता आफ्नो चार वर्षको कार्यकाल सकिएपछि ४७ मध्ये २० वटा विभाग गठन गरेका थिए ।
शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा चितवनका शेषनाथ अधिकारी र सचिवमा कास्कीका डा. कृष्णप्रसाद पौडेल तोकिएका छन् । शिक्षा विभाग ४० सदस्यीय छ । देउवाले यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिएका छन् । ४१ सदस्यीय यो विभागको उपप्रमुख वा सचिव भने तोकिएको छैन ।
महाधिबेशनको मिति तय भैसकेको अवश्थामा गरिएको मनोनयनलाई लिएर पौडेल र सिटौला पक्षले भने असहमती जनाएको छ ।