काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी रिहा भएका छन् ।
देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंमा आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णु प्रसाद अवस्थितको इजलासले आज उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो ।
केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए ।
देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो ।
जयवीरकै नामबाट जाहेरी दिए पनि अभियोगपत्र दर्ता गर्दा भने उनको नाम लुकाइएको छ । प्रहरीले जयवीरलाई परिवर्तित नाम ‘साइबर ब्यूरो ५५’ दिएर अभियोगपत्र बनाएको हो ।
काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा केसीले स्टाटस लेखेका थिए ।