देशभक्त सरकार छ, आफ्नो जमिनको रक्षा गर्छ : प्रधानमन्त्री

14
फाइल फोटो

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको भेला समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको बताएका हुन् ।

मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए । अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद दिए ।

‘दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाई थियो । कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए ।

‘कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी नक्सा सच्याउनु भन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’

दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ती देखाउने नाममा उत्श्रृंखल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘तर, आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

ओलीले संक्रमणकाल अन्त्य गरी कानूनी पूर्वाधार समेत बनाउन समय खर्च गरेपनि सरकारले विकासको नयाँ जग बसालेको बताए । ‘कानूनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परेपनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुर्याउन सफल भएका छौं, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौं’ उनले भने, ‘उत्पाद वृद्धि र पूर्वाधार विकासमा हामी तीब्र गतिका साथ अघि बढेका छौं ।’

वैचारिक पूर्वाग्रह र आफूले व्यक्तिगत रुपमा केही नपाएको गुनासो जस्ता दुई कारणले मात्रै सरकारको विरोध भएको उनले बताए । ‘सरकारले राम्रै गरे पनि कम्युनिस्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसावले एकथरीले आइडियोलोजिकल विरोध गरिरहेका छन्’ उनले भने, ‘अर्काेथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइनँ नि भनेर पनि विरोध भइरहेको छ ।’

थ्यमा आधारित विरोधले मात्र कमजोरीहरु सुधार्न सहयोग पुग्ने समेत उनले बताए । प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिंदै सोचाईमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा संघका कार्यकर्तालाई निर्देशन दिए ।

समाचार वर्गहरू