(काठमाडौं) । आज पनि देशभरिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ खुवाईंदैछ । पहिलो चरण अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन लागिएको हो ।
जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाईँदैछ । छ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालभिटा र पाँच वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार खान छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ७ सय ५३ वटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधी क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्ने गर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई वर्षे्नि खुवाईने गरिन्छ ।