देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुऱ्याउछौं : मन्त्री अर्याल

27

स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत शुक्रबार मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गरेकी हुन् ।

मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताईन् । मालपोत र नापी कार्यालयको बिग्रिएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताईन् ।

सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उनले त्यसका निम्ती नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताईन् । ‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो २/३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिने गरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुबिधा दिएका छौ ।’

नमुना भन्दा २÷४ ठाउँमा गर्ने भन्ने पनि हुन सक्ने भन्दै उनले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधि मैत्री सेवा पु¥याइने बताईन् । तर, यसका निम्ती दक्ष जनशक्तिको अभाव हुँदा अभियान प्रभावित भएको बताईन् ।

‘हामीले जुन प्रविधिको प्रयोग गर्न खोज्यौं त्यसका निम्ती दक्ष जनशक्तिको आवश्कता पर्छ । त्यो कुरामा हामीलाई दक्ष जनशक्तिको कसरी विकास गर्ने भन्ने कुरामा चुनौती छ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो एकढंगले कर्मचारीहरुको नियुक्ती भएका छन् । हामी अर्काे हिसाबले हिड्न खोजेका छौ । नयाँ खालको प्रविधिलाई प्रयोग गरेर सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको संख्या हामीसँग कम छ । यो कुरा चुनौतीपूर्ण त छ । तर विज्ञताको बृद्धी गर्दै कर्मचारीहरुलाई दक्ष बनाउदै हामी अगाडी बढ्नुपर्छ ।’

कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटहरु रहेको भन्दै उनले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालले बताईन् । यसैबीच मन्त्री अर्यालले बेरोजगारलाई स्वःरोजगारमा परिणत गर्न भुमि बैंकको अवधारणा ल्याईएको बताईन् ।

भूमि बैंक मार्फत बाँझो खेतियोग्य जमिनको प्रयोग गरी उत्पादकत्व बृद्धि गरिने मन्त्री अर्यालले बताईन् । भूमिको उचित उपयोग गर्नुपर्ने बताउदै उहाँले आधुनिक प्रणालीको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाई छ । विकास, समृद्धि, लोकतन्त्र र शान्तिको स्थायित्व सरकारको लक्ष्य रहेको भन्दै उनले सामाजिक सद्भाव र राष्ट्रियता मुख्य मन्त्रका साथ सरकार अगाडी बढेको जानकारी दिईन् ।

समाचार वर्गहरू