काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको टिप्पणी गरेका छन् ।
आइतबार (जेठ १८) काठमाडौंको कमलादीमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीको आन्दोलनलाई जवाफ दिने सरकारको इच्छाशक्ति नभएको जिकिर पनि गरे ।
उनले देश दुनियाँमा एमाले भन्ने पार्टीको बेइज्जत भएको भन्दै राजावादीको प्रतिवाद माओवादीबाहेक अहिलेको सरकारदेखि कोहीकसैले पनि गर्न नसक्ने दाबी गरे ।
प्रचण्डले भने, ‘जसरी चैत १५ मा तीनकुनेमा मण्डलेहरुले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए, त्यसको प्रतिवाद अरुले गर्दैनन् । यो सरकारको त केही हैसियत नै छैन । यो सरकारको इच्छाशक्ति पनि छैन । गफ दिनेबाहेक केही पनि छैन । उनीहरुले गफ गरे । हामीले गफ नै नगरेर एक लाख मान्छे उतारेर देखायौं । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजै मर्नु । देश दुनियाँमा एमाले भन्ने पार्टीको यति बेज्जत भयो ।’
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको कब्जामा लिन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । एमालेले त्यस दिन गणतन्त्र दिवस उत्सव भन्दै काठमाडौंमा सांस्कृतिक र्याली निकालेको थियो ।