काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको नाम मुछिएको उल्लेख गर्दै थापाले जुनसुकै दलका व्यक्ति भए पनि अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
‘सहकारीमा अपचलन गर्ने सयौँको संख्यामा छन्। ती ५–६ सय मान्छे अनुसन्धानको क्रममा छन्। अभियोजन भएको छ। अरू ५–७ सय मान्छे फरार छन्। ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याऔँ। त्यो नयाँ होस् कि पुरानो होस् कि। त्यो घाम तापेर बसिरहेको होस् कि, घन्टी बजाएर बसिरहेको होस् कि रुखको छायाँमुनि बसिरहेको होस्, सबलाई अनुसन्धानमा ल्याऔँ।’
कानुनभन्दा माथि कुनै पनि व्यक्ति नहुने र आमनागरिकको विश्वसनीयताका लागि पनि सबैमाथि अनुसन्धान हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘अहिले बाहिर चर्चा चलेको छ। नेपाली कांग्रेसको एकजना नेता–पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सम्बन्धमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ। म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नुपर्छ। एमालेको ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान। अनुसन्धान मात्र होइन, गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि दिनुस्।’