धनुषा, सिन्धुपाल्चोक र रुपन्देहीमा निषेधाज्ञा थपियो

42

धनुषा – कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंंपटक थप गरी भदौ २१ गतेसम्म पु¥याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज सुरक्षा समितिको बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र निजी सवारी साधनमा रोक लगाइएको छ । खाद्यान्न, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ ।

सिन्धुपाल्चोक – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेर भदौ १७ गते राति १२ बजेसम्म पुर्याएको छ । यही भदौ १ गतेदेखि लागू गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ । कोरोना संक्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागू गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गरेका छन् । 

यसअवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट संक्रमित ९९ जना पुगेका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

रुपन्देही – कोरोना संक्रमण समुदायस्तरमा बढ्दै जान थालेपछि नियन्त्रणका लागि रुपन्देहीमा लकडाउनलाई थप कडाइसहित अवधि थप गरिएको छ । कोरोना संक्रमणको दर कम गर्न समुदायमा सामाजिक दूरी कायम राख्न लकडाउन बढाउँदै लगिएको हो । 

प्रदेश नं ५ को अस्थायी राजधानी रुपन्देही जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमा बढ्दो रुपमा फैलिन थालेपछि जिप्रकाले दुई सातादेखि जारी लकडाउन यही भदौ २० गतेसम्म लम्बाउने निर्णय गरेको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सिफारिस गरेअनुसार जिल्ला जिप्रकाले शनिबारसम्म लकडाउन थप्ने निर्णय गरेको जिप्रका रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिए । 

रुपन्देहीमा पछिल्लो तथ्याङ्अनुसार ८८० जनामा संक्रमण पुष्टि हुँदा नौ जनाको ज्यान गएको छ ।

समाचार वर्गहरू