धरानबाट चन्द समूहका ९ कार्यकर्ता पक्राउ

20

(सुनसरी) – धरान उपमहानगरपालिकामा आगामी शनिबार हुन गईरहेको उपनिर्वाचनलाई लक्षित बम विस्फोटको तयारी गरिरहेका प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका ९ कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई सोमबार राति धरानको भानुचोक र धरान १५ स्थित निराजन बस्तीबाट प्रहरीले पक्राउ गरेको हो । सोमबार सा“झ धरान–८ भोटेपुल बस्ने रमेश भन्ने कुमार ढकाललाई भानुचोकबाट नियन्त्रणमा लिएको थियो ।

ढकालकै बयानका आधारमा थप ८ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रही नायव उपरिक्षक ढुण्डिराज न्यौपानेले बताए ।

चन्द समूहका कार्यकर्ताहरुले मंसिर १४ गते धरानमा हुने उपनिर्वाचन विथोल्न विभिन्न गतिविधि गर्ने र चन्दा आतंक मचाउने तयारी गरिरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सुवास राई, संजेस राई, दिपेन्द्र राई, उदिप रसाइली, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेका छन् । उनीहरुको साथबाट १ लाख १२ हजार ५ सय रुपैयाँ , एक थान प्रेसर कुकर, मोटरसाइकल २ थान, मोबाइल सेट १० थान र सिम १२ थान बरामद भएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू