धादिङमा कोरोना महामारी बीच बालुवा व्यवसायीको दादागिरी, टिपर जुलुश प्रदर्शन

38

धादिङ –  जिल्ला प्रशासन कार्यलय धादिङले एक साताअघिदेखि धादिङमा कुनैपनि खोलानाला र नदीमा बालुवा उत्खनन् गर्न नपाउने सूचना जारी गरेपछि काम गर्ने बालुवा मजदुरलाई उचालेर बालुवा व्यवसायीहरु  जिल्ला प्रशासन घेराउ गर्न टिपरसहित असुरक्षित तरिकाले आएका थिए । को‍रोनाको जोखिमको कुनै प्रवाह नगरी वर्षौदेखि त्रिशूली नदी किनारमा अवैध उत्खनन् गर्नेहरुले मजदुरलाई अघि सारेर सदरमुकाम धादिङवेशीमा दादागिरि देखाएका छन् ।

प्रायजसो गाडीमा धेरै यात्रु खाँदिएको देखेमा प्रहरीले नै तत्काल यात्रहरु झार्ने गर्दछ तर बालुवा व्यवसायीको उक्त ‘दादागिरि र्‍याली’ लाई प्रहरीकै गाडिले स्कर्टिङ गर्दै जिल्ला प्रशासन कार्यलयको छेउमै रहेको टुँडीखेल पुर्‍याएको थियो ।

मजदुरको र्‍याली र विरोध कार्यक्रम भनिए पनि बालुवा व्यवसायी र विचौलियाले नै नाराजुलुसको नेतृत्व गरिरहेका थिए । मजदुरको नेतृत्वमा गर्नेमा विगत लामो समय अघिदेखि त्रिशूली नदी किनार बेल्खु दोभानको इन्द्रायणी बगर कब्जा गरेर बालुवा उत्खनन् गरिरहेका गणेशलाल श्रेष्ठ, त्रिशूली नदीको किनारको रुम्टा बगर ओगेटर उत्खनन् गरिरहेका केशव अधिकारी, मासटारमा त्रिशूली नदीमा उत्खनन् काम गर्दै आइरहेका रामप्रसाद अधिकारी (जगन्नाथ) अग्रपङितमा रहेका थिए । उनीहरुकै अगुवाइमा मजदुर आन्दोलनमा सहभागी भएका थिए।

अवैध ढंगले बालुवा उत्खनन् गरेको, बर्खाको भेलमा मजदुरलाई जोखिमपूर्ण काममा लगाएको र मजदुरको ज्यानै गएको घटनाका कारण र गृह मन्त्रालयकै निर्देशनबाटै उत्खनन् बन्द गर्ने प्रशासनले बताएको छ । तर प्रशासनले मजदुरको रोजीरोटी खोसेको र काम गरेर खान नदिएको भन्दै आन्दोलन गरेको व्यवसायीले बताएका छन् ।

नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यलयको प्राङगणमा पुगेको र्‍यालीले उपस्थित मजदुरको हस्ताक्षरसहित तत्काल नदी किनार बालुवा संकलन र उत्खनन् गर्न पाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाइ ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले माथिल्लो निकायकै निर्देशनमा बन्द गरिएकाले तत्काल खुलाउन नसक्ने जवाफ दिएका थिए ।हरेक वर्ष त्रिशूली नदीको भेलमा बालुवा निकाल्ने क्रममा कम्तीमा पनि १० जना मजदुरले ज्यान गुमाइरहेका छन् । कामबिहीन भएका मजदुरलाई उचालेर कोरोना महामारीको संकटपूर्ण अवस्थामा बालुवा व्यवसायीले आन्दालनको दादागिरि देखाएका हुन् ।

समाचार वर्गहरू