काठमाडौं – अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
बर्षा कम भए लगत्तै सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो।
निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ।
निर्माणधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो।
निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका छन्।
सडक निर्माणार्थ दुई दिन पूर्ण रुपमा मालबहाक यातायातका साधान बन्द गर्न कार्यालयले बुधबार सार्वजनिक सूचनामार्फत अनुरोध गरेका हो।
यसैबीच बनेपाको चार दोबाटो–रविओपी हुँदै पाँचखाल र बिपी राजमार्ग–तीनपिप्ले–पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
यसका अतिरिक्त साना सवारीसाधनले नगरकोट–कुन्ताबेंसी–जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट–पाँचखाल हुँदै काठमाडौँतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न सक्नेछन्।