काठमाडौं – सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन् ।
त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत–८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रङ्गका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो र दुई वटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।