नगरकोट क्षेत्रमा फेला पर्यो बिश्वकै नयाँ बिरुवा

18

(सिन्धुपाल्चोक) – वनस्पतिमा रुची राख्ने सिन्धुपाल्चोकको चौतारामा जन्मिएका वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका बिरुवा विश्वमै नयाँ भएको पुष्टि भएको छ ।

कसजूले पत्ता लगाएको बिरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा (आइबीजीई) ले बिरुवाको नाम राखेको हो । कसजूले आफूले देखेका, चिनेका बिरुवाहरुको तस्बीर खिचेर विभिन्न संस्थामा पठाउने गर्दथे । त्यसै क्रममा उनले झण्डै चार वर्षअघि एउटा नौलो तस्बीर खिचेर आइबीजीईमा पठाए ।

कसजूले पत्ता लगाएको बिरुवा नौलो भएका कारण आइबीजीईमा कार्यरत डा भाष्कर अधिकारी र जोन उडले त्यस बिरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि बिरुवाको औपचारिक पहिचान मिलेको हो ।

“संसारको विभिन्न देशमा नागरिक वैज्ञानिकले वनस्पति शास्त्रको अध्ययनमा निकै योगदान पु¥याएका हुन्छन्” आइबीजीईमा कार्यरत डा अधिकारीले भने, “तर नेपालमा नागरिक वैज्ञानिकले नयाँ प्रजातिको बिरुवा भेटाउने कुरा बिरलै हो, हामी कसजूप्रति आभारी छौँ ।”

को हुन सरोज कुमार  कसजु ?

विसं २०१४ माघ २५ गते चौताराको पुरानो बजारमा जन्मिएका उनले श्रीकृष्ण विद्याश्रममा प्रारम्भिक शिक्षा शुरु गरेका थिए  । पद्मोदय माविबाट एसएलसी दिएका उनले अमृत साइन्स क्याम्पसमा आइएस्सी गरेका थिए । कसजूलाई सिन्धुपाल्चोकमै पहिलो पटक एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गर्ने व्यक्तिका रुपमा चिनिन्छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट डीपीए र एमपीए गरेका छन्  । विसं २०३३ बाट नेपाल वायुसेवा निगममा संलग्न कसजू त्यहाँको वाणिज्य विभागको निर्देशक पनि भए  । ३८ वर्ष वायुसेवा निगममा काम गरी अवकाश प्राप्त उनि अहिले काठमाडौँको ज्ञानेश्वरमा बस्दै आएका छन । (रासस)

समाचार वर्गहरू