नयाँ वर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास

60

(काठमाडौं) – उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोरोना भाइरस कोभिड–१९ विरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गरेका छन् ।

कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् ।

जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उनले सन्देशमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नयाँ वर्ष २०७७ शुभारम्भको पावन अवसरले कोभिड-१९ विरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु । वि.सं. २०७७ को प्रारम्भिक महिनाहरुमै यो महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पूरानै लयमा छिट्टै फर्कने मैले विश्वास लिएको छु । नयाँ वर्ष २०७७ को सबैमा शुभकामना ।’

समाचार वर्गहरू