काठमाडौं– जाजरकोटमा अवस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीबार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।
मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए ।
भेटवार्तामा ऊर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारी सहभागी थिए ।
ऊर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनकाअनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।
मन्त्री पुनले भने, ‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डीपीआरको अध्ययन लगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चाँडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’
त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएको उनको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पुनले नेपालमा हाल पाँच वर्षको लागि स्थायी सरकार रहेको भन्दै थप लगानीका आग्रह गरे । उनले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दाबी समेत गरेका छन् । मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बंगलादेशसंँग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित बिजुलीको लागि आन्तरीक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको समेत बताएका थिए ।