काठमाडौं – सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले आज (बिहीबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आज बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।
नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा भएका छन् ।
प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् ।
यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।