नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

7

काठमाडौँ – नवनियुक्त राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्।

यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो। शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो।

शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो। तर कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो।

सपथ ग्रहण कार्यक्रममा मन्त्रीहरुसमेतको उपस्थिति थियो। आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्।

राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्।

समाचार वर्गहरू