नवलपरासी – उखुको मूल्य भुक्तानीको विषयलाई लिएर पश्चिम नवलपरासीका उखु किसानहरूले आन्दोलनको घोषणा गरेका छन् । अघिल्लो वर्षको रकमसमेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योग समयमै सञ्चालनमा नआएकै कारण हरेक वर्षजस्तै अहिले पनि आन्दोलनको तयारीमा जुटेका छन् ।
जिल्लाका उद्योगबाट किसानले अघिल्लो वर्षको गरी करिब रु ५० करोडभन्दा बढी रकम लिन बाँकी छ । तर चिनी उद्योगले रकम दिन विभिन्न बाहना बनाउँदै आएका छन् । अघिल्लो वर्षको भुक्तानी शुरु गर्नुपर्ने र शुरुमै मूल्य निर्धारण गरी तत्काल सबै चिनी उद्योग सञ्चालनमा आउनुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन् ।
चिनी उद्योग सञ्चालक भने थोरै थोरै रकम भुक्तानी गरी यस वर्ष पनि उधारोमा उखु लिने दाउमा छन् । किसानले भुक्तानी शुरु गरेर मात्र चिनी मिल सञ्चालन गर्नुपर्ने माग राख्दै चिनी उद्योगमा धर्ना दिएर आन्दोलनको शुरुआत गरेका छन् ।
उद्योगमा रहेका चिनी बिक्री नभएकाले रकम भुक्तानी गर्न नसकिएको भन्दै उद्योग सञ्चालकले आलटाल गर्दै आएको पाइन्छ । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकममध्ये अहिलेसम्म पनि करिब रु ५० करोड भुक्तानी पाएका छैनन् ।
पश्चिम नवलपरासीमा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ ।
रासस