नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ – गगन थापा

79

काठमाडौं – कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन् ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताएका हुन् ।

‘आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ । जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ,’ महामन्त्री थापाले भने ।

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उनको भनाइ छ । ‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताए । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताए । रासस

समाचार वर्गहरू