राधा ढुंगाना/काठमाडौँ – सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको एउटा आँखा नै छोपिनेगरि गलामा अटि–नअटी माला पहिरिएको तस्बीर यतिबेला सामाजिक सन्जालमा भाईरल नै भएको छ । गएको शनिबार गृहजिल्ला काभ्रेको रोशी गाउँपालिकामा भएको एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटालाई स्थानीयले माला पहिर्याइदिए । माला उनका गलामा मात्रै अटेनन् आँखासम्म छोप्न पुग्यो ।
मालाले एउटा आँखा नै छोपेर मन्त्री बाँस्कोटालाई हिँड्न नै अप्ठेरो भएपछि सुरक्षा गार्डले उनलाई हात समातेर र्डोयाएको तस्बीरमा देख्न सकिन्छ । उक्त तस्बीरले सामाजिक सञ्जाल तताएको छ भने उनको चर्को आलोचना समेत भएको छ । उनले सोहि कार्यक्रममा १० वर्षपछि नेपालीको प्रतिव्यक्ति वार्षिक आय साढे १२ हजार अमेरिकी डलर पुग्ने दाबी समेत गर्न भ्याए । त्यतिमात्र होईन, ‘जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ’ पनि भन्न भ्याए । तर जनताको मन भने राजनैतिक दल र नेताप्रति भने खुम्चीदै गएको सहजै अनुमान लगाउन सकिन्छ ।
राजनैतिक दल र नेतासँग नागरिकलाई कत्तिको वितृष्णा छाएको छ भन्ने कुरा प्रष्टै छ । नागरिकले सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत राजनैतिक दल र नेताप्रतिको धारणा व्यक्त समेत गर्ने गरेका छन् । फेसबुकमा राजन न्यौपाने लेख्छन, ‘देशको राजनीतिक दलको अवस्था देखेर राजनीतिप्रति नै वितृष्णा पैदा भयो । सरकारमा भएको नेकपा देश लुट्न नै व्यस्त छ, नेपाली कांग्रेस आन्तरिक झगडामा मै व्यस्त छ । मधेसवादी दलहरु मन्त्री पदको लागि हानथापमा व्यस्त छन् । छिमेकी राष्ट्र सीमा मिचेको मिचै छ ।। अव नेपाली जनताहरु टुलुटुलु हेरेर बस्न बाध्य छन् ।। देशको हालको अवस्था ।’
त्यस्तै, फेसबुकमा रोशन तिवारी लेख्छन्, ‘नेपाल सरकार, इतिहासकै शक्तिशाली सरकारका प्रवक्ता उहाले जे भने पनि हामीलाई लागू हुन्छ । यत्रो माला र खादा मोह रहेछ उहाँलाई । सुधारक हुने मान्छे नै यस्तो सौखिन अनि कसरी होला र परिवर्तन ? किनेर त्यो पनि भारतीय फुल (माला) । धन्य छौँ हामी नेपाली अनि नेपाली राजनीतिक नेतागणको घैटोमा घाम कहिले लाग्ने हो कुन्नी ?’
त्यस्तै, ट्विटरमा साझा पार्टीका संयोजक रबिन्द्र मिश्र लेख्छन्, ‘जब नेताको आँखा र कान मालाले ढाकिन्छ, न उसले जनतालाई देख्छ, न जनताको आवाज सुन्छ । उसले मालामै महानता देख्छ, किनभने यो समाजमा जनतालाई नदेख्ने र जनताको आवाज नसुन्नेहरुलाई माला लगाइदिनेको कमि छैन् । उ फुलै फुलले ढाकेको भ्रममा बाँचेको हुन्छ ।’
जनजिविकासँग प्रत्यक्ष जोडिएका विषय र जनताको भावना अनुरुप काम गर्न नसक्दा पछिल्लो समय सरकारको काम, राजनैतिक दलको भूमिका र दलका नेताहरुसँग नागरिक दिक्क छन् ।
उनीहरुसँग नागरिकहरु आशावादी भन्दा बढि निरास छन् । देशमा ठुलै परिवर्तनहरु नआएको भने होईन । गणतन्त्र आएपछि मुलुकमा ठुलै परिवर्तन आउने आम नागरिकको अपेक्षा थियो तर नागरिकको भावना र अपेक्षा अनुसार देशको विकासले गति लिन भने सकेन । मुलुक संघीय संरचनामा गएपछि त झनै विकास र समृद्धिको आशा राखिएको थियो । तर दल र दलका नेताहरु भने जनताको मर्म, भावना र जनजिविकासँग जोडिएको विषयमा भन्दा पर पुगेर सत्ता र शक्तिमा केन्द्रित भएको आम नागरिकको बुझाई छ । अझ शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार हुँदा समेत नागरिकको भावनाअनुरुप काम गर्न नसकेको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ । राजनीति नेतृत्व प्रति देखिएको यहि प्रबृत्तिले गणतन्त्र प्रति नै संसय पैदा हुँदै गएको छ ।