नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

11

काठमाडौं । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कोषको ३१ औं वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित गरेको कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले बताएका छन् । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टाइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको जनाइएको छ । त्यसैगरी आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको बताएइएको छ ।

योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्घन गर्दै लैजाने योजना रहेको बताएका छन् । । आगामी दिनमा कोषले बचत संकलनको दायरा बिस्तार गर्दे जानेमा उनले जोड दिएका छन् ।

कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले बताएका छन् । साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिएका छन् । उनले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

उनले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारणसभा गर्न सफल भएको बताए । अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको समेत उनले बताएका छन् । कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रुपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको विषय उल्लेख गरेका छन् ।

कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले बताएका छन् । साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

समाचार वर्गहरू