काठमाडौं – प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्। विराटनगरको मुख्य राजमार्गमै पहिचान पक्षधरहरूले आन्दोलन गरेका हुन्।
मंगलबार दिउँसो १ बजेबाट सुरु भएको आन्दोलन दिउँसो ३ः३० बजेसम्म जारी रहेको थियो। आन्दोलनका क्रममा प्रहरीले २९ राउण्ड हवाई फायर गरेको थियो।
नेपाल प्रहरीका डीएसपीसहित ६, सशस्त्र प्रहरी बल ३ र आन्दोलनकारी १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार झडपमा डीएसपी विजय क्षेष्ठसहितका २२ जना सूरक्षाकर्मीहरू घाइते छन्।
घाइते हुनेहरूमा एन के दर्नाल, शिव आङ्देम्बे, उदय नेम्बाङ, ज्ञानप्रसाद राई र सुरज राई रहेका छन्। त्यस्तै, सरोज लिम्बू, अशोक राई, पदम लिम्बू, विशाल राई, रेसम राई, रोयल राई, बिमल किराँती र आस्था राई रहेका छन्। यीबाहेक सूरक्षाकर्मीहरू पनि घाइते भएका छन्।
उनीहरूको विराटनगरस्थित कोशी हस्पिटल र पारस हस्पिटलमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
गत चैत ५ गते आन्दोलनका क्रममा लाठी लागेर घाइते भएका धरान १५ बस्दै आएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएपछि पहिचान पक्षधरहरू थप आन्दोलित बनेका हुन्।