काठमाडौं – सुख्खा पहिरोका कारण आज बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन ।
सो सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखि सडक बन्द भएको हो ।
दिउँसो केहीबेर पहिरो पञ्छाउने काम भए पनि पहिरो खस्ने क्रम नरोकिएपछि अहिलेसम्म सडक बन्द नै रहेको छ ।
अहिले काठमाडौंबाट छुट्ने गाडी काठमाडौं रोकिएका छन् भने पूर्व र पश्चिमबाट काठमाडौंतर्फ आउने गाडी नारायणगढ आसपासमै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो खस्ने क्रम रोकिएमा राति पनि पन्छाउने काम हुने र यसका लागि तीन वटा मेशिन उपलब्ध भएमा झन्डै पाँच घण्टामा सडक खुलाउन सकिने प्रहरीको भनाइ छ ।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।