निगमले जापान र चीनमा उडान सुरु गर्दै

16

(काठमाडौं) – नेपाल एयरलाइन्सले आगामी मार्चबाट जापानको टोकियो र चीनमा गरी थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ । जापानको नारितामा मार्चको पहिलो साता र चीनको व्यापारीक केन्द्र ग्वाङ्झाउमा मार्च दोस्रो साताबाट उडान सुरु गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको निगमका प्रवक्ता गणेश चन्दले जानकारी दिए । उडान थपिएसँगै पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुने अपेक्षा निगमको छ ।

निगमले चीनको ग्वाङ्झाउमा१ सय ५८ सिट क्षमताको न्यारोबडी विमानबाट सेवा प्रदान गर्ने जनाएको छ । यस्तै, जापानको नारितामा २ सय ७४ सिट क्षमताकोे वाइडबडी विमानबाट सेवा दिने निगमले जनाएको छ ।

निगमको २६ मंसिरमा बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान विस्तार गर्ने निर्णय गरेको हो । यी दुई गन्तव्यको उडान थपिए पछि ए–३२० न्यारोबडी र ए–३३० वाइडबडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने भएका छन् ।

निगमले हाल ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ । यी दुई गन्तब्य थपिएसँगै निगमको अन्तर्राष्ट्रिय गन्तब्य १० पुग्नेछ ।

अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको ओशाका, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङमा उडान गर्दै आएको छ । निगमसँग अहिले दुई ए ३२० न्यारोबडी र दुई ए ३३० वाइडबडी विमान छन् ।

समाचार वर्गहरू