काठमाडौं – नेकपा एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व प्राप्त गरेको हो।
दाहालले संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षको रेकर्ड बनाउन सफल भएकी हुन् । एमाले निकट मानिने नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो । त्यसदेखि हालसम्म आउँदा संगठनले दाहाल सहित १६ अध्यक्ष पाएको छ । यसअघिका १५ जनानै पुरुष अध्यक्ष रहँदै आएकोमा हालै सम्पन्न १२ औ महाधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गर्दै पहिलो महिला अध्यक्षको रेकर्ड बनाएको हो ।
यसै गरी संगठनको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभाष शाह चुनिएका छन् । यस्तै उपाध्यक्षहरुमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णु प्रसाद अर्याल तथा महिला उपाध्यक्षमा विजयालक्ष्मी सुवेदी चयन भएकी छन् । यसै गरी महासचिवमा रामचन्द्र अधिकारी(आरसी) चयन भएका छन् भने उपमहासचिवमा वामदेव ओली, सूर्य बहादुर कुँवर, र महिला उपमहासचिवमा कमला दाहाल चुनिएका छन् ।
सचिवहरूमा राज बहादुर पछाई, तेज प्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्द अधिकारी तथा महिला सचिवमा देवी पराजुली चयन भएका छन् । सम्पन्न १२ औ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी सहित १६४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको नवनिर्वाचित महासचिव रामचन्द्र अधिकारी(आरसी) ले जानकारी दिए ।
महाधिवेशनपछि संगठनले नयाँ नेतृत्व पाएको छ, जसले निजामती कर्मचारीहरूको हकहितका सवालमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी, पहिलो पटक नेतृत्वमा महिला पुगेकाले संगठनको कार्यशैलीमा नयाँ धारणा र सोचले प्रभाव पार्ने विश्वास गरिएको छ। अबको नेतृत्वले संगठनलाई कसरी अघि बढाउँछ र कर्मचारी सुधारका विषयलाई कसरी प्राथमिकता दिन्छ भन्ने हेर्न बाँकी छ।