निजी भन्दा सरकारी खसी किलोमा सय रुपैयाँ सस्तो

28
गुगल

काठमाडौँ – सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । संस्थानले बजारमूल्य भन्दा किलोमा प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा बिक्री गने निर्णय गरेको हो ।

मूल्य निर्धारण गर्नुअगाडी सबै बजार विश्लेषण गर्दा बजारमा साढे ६ सय किलोसम्म बिक्री गरेको पाइएपछी खाद्य कम्पनीले सर्वसाधरणलाई प्रतिकिलो साढे ५ सय रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको खाद्य संस्थानले जनाएको छ ।

दसैंलाई लक्षितगरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्याङग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहेपनि मुख्य उद्देश्य बजार हस्तक्षेपरमूल्य नियन्त्रण गर्न रहेको जनाएको छ ।

‘चाडबाडमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु हो । सरकारले मूल्य तोकेपछि व्यापारीहरुले बढी तोक्न सक्दैन,’ कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेको छ । सोमबारदेखि नै बिक्री गर्छौं ।’

कम्पनीले यसपालि ३ हजार बिक्री गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारण संख्या घटाएर एक हजार खसीबोका र एक हजार च्याङग्रा ल्याउने जनाएको थियो । च्याङग्रा ल्याउन नसकेपछि खसीबोका मात्रै बिक्री गर्ने योजना बनाएको छ ।

‘यसपालि १ हजार वटा मात्रै बिक्री गर्ने योजना छ । तर, आवश्यकता परे संख्या बढाउन सक्छौं,’ उनले भनिन् । कम्पनीले गतवर्ष खसीबोका र च्याङग्रा गरी ३ हजार २० वटा बिक्री गरेको थियो ।

समाचार वर्गहरू