काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेका हुन् ।
अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमित कामहरू जारी राख्न भनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।
मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको बताउँदै जोशीले प्रधानमन्त्रीले कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने बताएको जानकारी दिए ।
मन्त्री जोशीले भने,‘प्रधानमन्त्रीले हामी विश्वासको मतका लागि संसद् फेस गर्छौँ भन्नुभएको छ । त्यसबेलासम्मका लागि आफ्ना काम नछोड्नुस् भन्नुभएको छ । यदि (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो भने हामीले संसदमा विश्वासको मत लिन संसद्लाई भन्नुपर्ने हुन्छ भन्ने कुरा राख्नुभयो । भोलिका दिनमा कस्तो परिस्थिति आइपर्ला तर अहिले नियमित काम जारी राख्न निर्देशन दिनुभएको छ ।’
प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, स्वास्थ्य मन्त्री प्रदीप यादवलगायतका मन्त्रीहरू सहभागी थिए ।