नियमित नभए पुसमा विशेष महाधिवेशन हुन्छ – विश्वप्रकाश शर्मा

79

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुसभित्र नियमित नभए विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्।

ललितपुरमा जारी केन्द्रीय समितिमा बिहिबार आफ्नो धारणा राख्दै चुनावअघि नै महाधिवेशन गर्नको लागि तीन विकल्प अघि सारेका हुन्।

उनले भने, ‘कसैले पनि ५४ प्रतिशत हस्ताक्षर भएको छ। त्यस कारणले अब एक हप्ता पछि भनेको छैन। यसलाई रुजु गर्नु पर्‍यो, सनाखत गर्नु पर्‍यो। सनाखत गर्दै गर्दाखेरि ५४ को ठाउँमा ५० देखियो भने के फरक पर्‍यो ? त्यस बिचमा १०-१५ प्रतिशतले थप हस्ताक्षर लिएर आयो भने के फरक पर्‍यो ?’

उनले हस्ताक्षरलाई कसैले पनि यो हो यो होइन भन्न नमिल्ने बताए। उनले भने, ‘अब हामीले एउटा निर्णय गरौँ र महाधिवेशनको लागि चाहिँ हामीसँग तीन वटा विकल्प छ भन्ने लाग्छ। पहिलो विकल्प १५औँ महाधिवेशन पुस १६-१९ मा गर्ने गरी महामन्त्री गगन थापाले राखेको जो प्रस्ताव छ, बिपी कोइरालाले मेलमिलापको नीति लिएर देश आएर त्यो ऐतिहासिक तिथिमा दिएको सन्देशबाट आज पनि देश प्रभावित छ। त्यो मिति एउटा उपयुक्त मिति हुन सक्छ।’

महामन्त्री थापाको प्रस्ताव अनुसार पुस १६ मा महाधिवेशन भ्याइँदैन सकिँदैन भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर बमोजिम १७ (२) बमोजिम मंसिर भित्रै विशेष महाधिवेशन गर्न सकिने बताए।

उनले भने, ‘गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै साथीहरू हुनुहुन्छ। हामीभन्दा मेहनत गर्ने साथीहरू हुनुहुन्छ, अनादर नगरौँ। तेस्रो विकल्प, त्यसरी गर्दा उपयुक्त हुन्न भन्ने हो भने त्यही दफाले फेरि केन्द्रीय समितिले बोलाउन सक्छ भन्छ। यो तेस्रो विकल्प छ।’

उनले थपे, ‘महाधिवेशन त्यसरी गर्दा आम निर्वाचनलाई असर गर्ला कि भनेर आदरणीय साथीहरूले राख्नुभएको चासो निश्चय नै महत्त्वपूर्ण छ। मलाई सँगैमा के लाग्छ भने सुतेर बसेको पार्टी लिएर निर्वाचनमा जानुभन्दा अधिवेशन र विभिन्न अभियानमार्फत जुरमुर्‍याएको पार्टी लिएर चुनावमा जाँदै गर्दा त्यसले फागुन २१ को निर्वाचनमा सकारात्मक बल पुग्छ।’

समाचार वर्गहरू