काठमाडौं – काठमाडौं महानगरपालिकाले नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले दिएको निर्देशन अनुसार सम्बन्धित पक्षले नियम विपरीत राखिएको विज्ञापन हटाउन अटेरी गरेपछि महानगर आफैंले होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो ।
यस्ता बोर्डहरुले शहरलाई कुरूप बनाएको भन्दै कामपाले सम्बन्धित व्यक्ति तथा संस्थालाई नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन गत सोमवारसम्मको समय दिएको थियो ।
सम्बन्धित पक्षले निर्देशन पालना नगरेपछि महानगरले अहिले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा बोर्ड निकाल्ने काम गरिरहेको छ ।
सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, झ्याल–ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानसम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ ।
तोकिएको समयभित्र होर्डिङ बोर्ड नहटाए महानगरले नै हटाउने, हटाएको ज्याला सम्बन्धित पक्षबाट असुल गरिने र आवश्यक कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।