काठमाडौं – निर्णायक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बिना निष्कर्ष टुङ्गीएको छ ।
गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा शनिबार राति आकस्मिक रूपमा पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षबिहीन बनेको हो ।
बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । ‘बैंठकमा समसामयिक राजनीतिबारे कुरा गर्यौं । जुन किसिमको अहिलेको अवस्था छ राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनसम्म छलफल भयो,’ उनले भने, ‘भोलि बैठक बस्ने भएको छ । साढे ११ बजे पुनः बैठक बस्ने र निर्णय गर्ने कुरा भएको छ ।’
परियारले भने, ‘यो गठबन्धनमा गृह मन्त्रालय र रास्वपामात्रै विवादको विषय होइन । अरु विषय पनि छन्, हामीलाई विषय बनाइएको हो कि भन्ने लागेको छ ।’
सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको आग्रहमा बिहीबार दुई दिन समय दिएको तर बैठकसम्म नबोलाएकोप्रति भने रास्वपाले असन्तुष्टि जनाएको छ ।