काठमाडौं – अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा अप्रिल २८ का दिनलाई ‘पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) स्मृति दिवस’को रूपमा मनाइन्छ।
यही अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) अन्तर्गत निर्माण सम्बन्धी श्रमिकहरूका लागि काठमाडौंमा एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसकी उपाध्यक्ष राधिका कुइकेल खनालले निर्माण श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहने वर्ग भएकाले कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाका विषयमा श्रमिकहरूलाई निरन्तर जानकारी र सचेतना दिन जरुरी रहेको बताइन्।
नेतृत्व तहका व्यक्तिहरूले कार्यस्थलमा श्रमिकहरूलाई सुरक्षित बनाउने दायित्व लिनुपर्ने र यो विषयलाई संस्थागत तहमा प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
कार्यक्रमको अध्यक्षता गरेका निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष प्रदीप आचार्यले निर्माण क्षेत्रका श्रमिकहरू दैनिकजसो दुर्घटनाको जोखिममा रहेकाले, सुरक्षित कार्यस्थल सिर्जना गर्नु आजको आवश्यकता भएको बताए।
महासचिव हरि लम्सालले कार्यक्रम सञ्चालन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले पेशागत स्वास्थ्य तथा सुरक्षालाई एक मौलिक श्रमिक अधिकारका रूपमा स्वीकृत गर्दै महासन्धि पारित गरिसकेको र यसले OHS विषयलाई विश्वव्यापी रूपमा थप महत्व दिएको जानकारी दिए।
यस कार्यक्रममा निर्माण तथा सम्बद्ध श्रमिक संघका पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, विभिन्न स्थानमा कार्यरत श्रमिकहरू तथा नेताहरूको उपस्थिति रहेको थियो।