(काठमाडौं) – चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा वैदेशिक व्यापारमा सुधार आएको छ । आयातमा केही कमी र निर्यातमा वृद्धि भएपछि वैदेशिक व्यापारमा सुधार आएको हो ।
भन्सार विभागको तथ्याङक अनुसार साउन, भदौ र असोजमा मुलुकको व्यापार घाटामा १२ दशमलव शुन्य २ प्रतिशतले गिरावट आई ३ खर्ब ७ अर्ब ७८ करोड २५ लाख ९२ हजार पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा ४२ अर्ब ५ करोड ९७ लाख ३६ हजार रुपैयाँले कम हो ।
गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा करिब २२ प्रतिशत कम भएको छ । अर्थ मन्त्रालयका अनुसार तीन महिनामा २ खर्ब रुपैयाा मात्रै राजस्व संकलन भएको छ ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा भारत लगायतका मुलुकबाट ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकबाट २७ अर्ब १६ करोड ६७ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
चीनबाट गत वर्ष ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँको आयात भएकामा यस वर्षको तीन महिनामा ५९ अर्ब २६ करोड ८१ लाख ५५ हजार रुपैयाँका सामग्री भित्र्याइएका छन् ।
चीनतर्फको निर्यात भने घटेको छ । गत वर्ष ५६ करोड ४० लाख ९७ हजार रुपैयाँका नेपाली सामग्री निर्यात भएकामा यस पटक ४५ करोड १८ लाख ६४ हजारको मात्रै निर्यात भएको विभागको तथ्यांक छ । निर्यात वृद्धिदर गत वर्षको तुलनमा १४ दशमलव ४१ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड १८ लाख ४० हजार रुपैयाँले बढी हो ।
कुल ब्यापारमा निर्यातको हिस्सा ६ प्रतिशतबाट बढेर साढे सात प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९४ प्रतिशतबाट घटेर ९२ दशमलव ५ प्रतिशतमा आएको छ । मुलुकबाट सबैभन्दा धेरै ५ अर्ब ७५ करोड २९ लाख ३१ हजार रुपैयाँ बराबरको पाम तेलको निर्यात भएको विभागको तथ्याङक छ ।
अर्थ मन्त्रालयले विलासिताका वस्तुहरुमा करको दर बढाएपछि आयातमा केही कमी आएको हो । मुलुकभित्रै उत्पादन हुने वस्तुहरुको आयातमा समेत कडाई गरेपछि वैदेशिक व्यापारमा सुधार भएको भन्सार विभागले जनाएको छ ।