निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’

12

काठमाडौँ – निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्ने अघिल्लो दिन नै जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरू गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रलोभन देखाएर सदस्य तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई रिसोर्टमा राखेको हो । आयोगले सोमबार ‘हेड काउन्ट’ गरेर बहुमत रहेको पक्षलाई आधिकारिकता दिने अनुमान गरिएको छ ।

यादवपक्षीय नेता डम्बर खतिवडाका अनुसार रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३२ जना उपस्थित छन् । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । केन्द्रीय कार्यकारिणी समितिमा नरहेका दुई सांसद भने उपस्थित छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । जसपाको सत्तारोहणले प्रधानमन्त्री देउवालाई सरकार सञ्चालनमा राहत हुनेछ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । त्यसैले जसपाको आधिकारिकतासम्बन्धी विवादलाई सत्ता गठबन्धनका दलहरूले समेत चासोका साथ हेरिरहेका छन् ।

सर्वोच्च अदालतले जसपाका अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको छ । जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । रिटमा ठाकुरले आयोगबाट सनाखत कार्य नरोकिए आफूलगायत जसपाका नेतालाई अपूरणीय क्षति हुने उल्लेख गरेका थिए । न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई साउन १५ गते बोलाएको छ । ‘प्रस्तुत विवादसँग सम्बन्धित निर्वाचन आयोगको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लाने गरी झिकाउनू,’ अदालतको आदेशमा भनिएको छ । सर्वोच्चले ठाकुरको रिटमा अन्तरिम आदेश नदिएपछि आयोगलाई अघि बढ्न बाटो खुलेको हो । आयोगले दल दर्ताका बखत सनाखत गरेका ५१ सदस्यलाई सोमबार बोलाएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ता भने २०७४ असार २४ भएको थियो । त्यसपछि पार्टीभित्र नेता व्यवस्थापनको खचपच बढिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नदिने भन्ने मुद्दामा जसपा वैचारिक रूपमै विभाजित भएको थियो । गत पुस ५ गतेको पहिलो प्रतिनिधिसभा विघटनविरुद्ध जसपाका दुवै पक्ष एकैठाउँमा थिए । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछि भने ओलीलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा ठाकुर र यादव पक्षबीच फाटो बढेको थियो । ठाकुर पक्ष ओली नेतृत्वको सरकारमै सहभागी भएपछि पार्टी प्राविधिक रूपमा एक रहे पनि व्यावहारिक रूपमा फुटेको थियो । एकअर्कामाथि कारबाहीको शृंखला चल्दै गर्दा यादव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको माग गर्दै निवेदन दिएको थियो । निर्वाचन आयोगमा दल दर्ता गर्दा यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबाट २५ र ठाकुरसहितको नेतृत्वमा रहेको राजपाबाट २६ सदस्य राखिएको थियो । नेता महेन्द्र राय यादवसहित पूर्वराजपा पक्षका ७ जना सदस्य यादव पक्षमा गएका थिए । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३२ जना यादव पक्षमा देखिएका छन् ।

सरकारका एक मन्त्रीका अनुसार जसपाको विवादमा आयोगले सोमबार निर्णय दियो भने मंगलबार वा बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्छ । जसपा अध्यक्ष यादवले विवाद छिनोफानो नभएसम्म मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आएका थिए । ‘आयोगको फैसला सोमबार आयो भने तत्काल मन्त्रालयको भागबन्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ यादवले भने । अहिले यादव पक्षमा २० र ठाकुर पक्षमा १२ सांसद छन् । दोस्रो पटक प्रतिनिधिसभा पुन:स्थापनापश्चात् ठाकुर पक्षमा रहेका ८ सांसद यादवतिर लागेका हुन् । पार्टीको आधिकारिकता यादव पक्षले पाए अझै केही सांसद थपिन सक्ने र एमालेको माधवकुमार नेपाल पक्ष नभए पनि सरकारका पक्षमा बहुमत पुग्ने अनुमान सत्ता घटकमा छ ।

यादव पक्षले पार्टीको आधिकारिकता पाए ठाकुर पक्षले पार्टीमै रहने वा नयाँ दल दर्ता गरेर जाने भन्ने निर्णय गर्नुपर्नेछ । ठाकुर पक्षमा रहेका अधिकांश नेताले नयाँ दल दर्ता नगरी पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने सुझाव दिएका छन् । पार्टीको आधिकारिकता पाएलगत्तै यादवले केही नेतामाथि कारबाही गर्न सक्ने संकेत दिएकाले त्यस्तो अवस्थामा एकै ठाउँ रहनुभन्दा नयाँ दल दर्ता गर्न उपयुक्त हुने भनाइ अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको छ । यादव पक्ष ठाकुर र महतोको भूमिकालाई लिएर आक्रोशित छ । केही दिनअघि अध्यक्ष यादवले प्रतिगमनलाई साथ दिने प्रमुख नेताबाहेक अरूलाई पार्टीमा स्वागत गरिने बताएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

समाचार वर्गहरू