निर्वाचन आयोगले मानेन जसपाका दुवै अध्यक्षको निर्णय

12

काठमाडौं –  जनता समाजवादी पार्टीका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवको निर्वाचन आयोग पुगेको फरक फरक पत्र अस्वीकृत भएको छ ।आयोगले ठाकुर र यादवले एक अर्कालाई निष्काशन गरेको निर्णयसहित लेखेको पत्र अस्वीकृत गरेर प्रक्रिया पुर्याएर आउन भनेको छ ।

आयोगले जसपाका दुवै अध्यक्षले कारबाहीसम्बन्धी लेखेको पत्र नियमावली अनुसार जसपाको कार्यकारिणी समिति बसी निर्णय भएको हस्ताक्षर आयोगले मागेको छ । अध्यक्षको पत्रका आधारमा मात्र गरिएको कारबाही लाई आयोगले मान्यता दिन नमानेको हो ।

ठाकुरले अध्यक्ष यादवलाई पार्टीबाट निष्काशन गरेको पत्र लेखेका थिए । यसअघि यादवले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई निष्काशन गरेको पत्र आयोगलाई पठाएका थिए ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने र विरोधमा रहने समूहबीच विवादले फुट भइसकेको छ । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव समूहको कार्यकारिणीमा बहुमत छ । अध्यक्ष महन्थ ठाकुर समूह झीनो मतले अल्पमतमा छ ।

समाचार वर्गहरू