काठमाडौं – वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने विषयमा विज्ञहरुले छलफल सुरु गरेका छन् ।
शनिबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ’नेपालमा निर्वाचन प्रणाली’ पुस्तकको विमोचन कार्यक्रममा विज्ञ तथा दलका प्रतिनिधिले पूर्ण समानुपातिक प्रणाली उपयुक्त हुने बताएका हुन् ।
कार्यक्रममा पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘आजसम्म हामीले देखेको, अनुभव गरेको र मन पराएको भनेको बहुमतीय प्रणाली नै हो । यो त्याग्ने आँट हामीले गर्न सकेका छैनौँ । घर बेचेर जित्न पाइने प्रणाली किन छाड्ने भन्ने छ । अहिलेको मिश्रित समानुपातिकले जरामा होइन टाउकोमा मात्र समानुपातिक छ ।’ नेपालको लागि पूर्ण समानुपातिक प्रणाली उपयुक्त हुने उनको भनाइ थियो ।
निर्वाचन प्रणाली सुधार गर्दै पूर्ण समानुपातिकलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । यसबाट ‘हंग पार्लियामेन्ट’ (कसैको बहुमत नहुने संसद) नहुने र सरकार परिवर्तन भइरहने अवस्थाको अन्त्य हुने उनले बताए ।
नेकपा एकिकृत समाजवादीका नेता तथा सांसद प्रकाश ज्वालाले नेपाली राजनीति अराजक रहेकोले संविधान र कानूनले नै डो¥याउनुपर्ने स्थिति रहेको बताएका थिए । ‘कानून, संविधानले हामीलाई गोरुलाई डोरीले तानेजस्तो नतानेसम्म मान्दैनौँ । अहिलेको निर्वाचन प्रणालीले स्थिरता दिएन, विकृति दिएन, त्यसैले फरक ल्याउँ,’ उनले भने ।
नेकपा माओवादीकी सांसद रेखा शर्माले आफ्नो दलले संविधान निर्माणताका नै शासकीय स्वरुप र निर्वाचन प्रणालीमा फरक मत राखेको बताइन् ।
शर्माले भनिन्, ‘हामीलाई बाध्य बनाइएन भने हामी विवेक प्रयोग गर्दैनौँ । पूर्ण समानुपातिक भयो भने मात्र उत्पीडितको प्रतिनिधित्व हुन्छ । अहिले शक्ति पृथकीकरणको अवस्था छैन । गज्याङगज्याङ छ ।’ चुनावमा धारा र पानी ल्याइदिने वाचा गरेका सांसदले कानून बनाउनतिर ध्यान दिन नसकेकाले संसदबाट सरकार निर्माणको प्रणाली हट्नुपर्ने उनको धारणा थियो । यसबाट प्रदेशमा पनि स्थिरता आउने उनले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद सुमना श्रेष्ठले कानून निर्माणभन्दा पनि बजेट आफ्नो क्षेत्रमा पार्न सांसदहरुको सक्रियता देखिएको अनुभव सुनाइन् । प्रदेशको संरचना चुस्त र निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उनको भनाइ थियो । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने सुझाव उनको छ ।
जनता समाजवादी पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा फेरबदल आवश्यक रहेको र खर्चिलो प्रणाली फेरिनुपर्ने बताएका छन् । सांसद खरिदविक्रीले अस्थिरता आएकाले यसमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
अस्थिरता नेपाली राजनीतिज्ञको मनमा रहेको भन्दै यादवले विषय विज्ञहरुलाई मन्त्री बनाउनुपर्ने बताए । सांसदहरुलाई मन्त्री बनाउने प्रवृत्तिले गर्दा सरकार टिक्न नसकेको उनको भनाइ थियो । राजा महेन्द्रको पालामा विकास हुनुको कारण विज्ञ मन्त्रीमण्डल रहेको भन्दै उनले सरकार परिवर्तनको लागि शासकीय स्वरुप पनि फेर्नुपर्ने उनको भनाइ थियो ।