(सुनसरी) – बलात्कारको आरोप लागेका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणाको मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका निलम्बित एसएसपी राणाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो ।
अनुसन्धानका लागि राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले पाँच दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । म्याद थप गर्नुपूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आआफ्नो तर्क राखेका थिए ।
एक महिलामाथि जवर्जस्ती बलात्कार गरेको आरोप लागेका एसएसपी राणाको मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलले १० दिनको समय मागेपनि अदालतले ५ दिन समय दिएको हो ।
झापा बस्ने एक महिलाले राणाले आफुलाई इटहरीको एक होटलमा बोलाएर बलात्कार गरेको किटानी जोहेरी दिएपछि गृह मन्त्रालयले एसएसपी राणालाई गत शुक्रबार निलम्बन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले म्याद थप भएपछि राणालाई इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको जानकारी दिए ।