(काठमाडौं) – यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत, काठमाडौंमा हाजिर गराइएको छ । आइतबार दिनभर सरकारी वकिल कार्यालयमा बयान लिएपछि थुनछेक बहसका लागि अदालत लगिएको हो ।
संघीय संसद सचिवालयकी एक महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको अभियोगमा उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका थिए ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकै कारण बयान दिन नसक्ने उनले बताएका थिए । तर, आइतबार उनको बयान भएको छ । प्रहरीले अनुसन्धान अझै नसकिएको जनाउँदै थप ७ दिन म्याद माग्ने तयारी गरेको छ ।