काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।
सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरे । २०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।
खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनी दायर मुद्दामा पक्राउ गर्न म्याद तामेल गरेको हो ।
खड्काले दायर गरेको जाहेरी सहितको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको हो । उक्त आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।