काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिना पछिका लागि सरेको छ ।
कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिएका छन् ।
बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।
महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो । सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो ।