नेकपाको पार्टी एकीकरण टुंग्याउन गृहकार्य टोली गठन

69
फाइल फोटो

काठमाडौं – नेकपाको पुुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले सांगठनिक कामलाई सम्पन्न गर्न सुझाव दिनका लागि गृहकार्य टोली गठन गरेको छ ।

सोमबार पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकीकरणका बाँकी काम पूरा गर्न सुझावका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली गठन गरेको हो ।

गृहकार्य टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन् ।

यो टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठनको बारेमा र पार्टी संगठनको एकीकरणको काम सम्पन्न गर्न सुझाव दिनेछ । त्यसका लागि एक हप्ताको समयसीमा तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकीकरणको बााकी रहेको कामहरु पूरा गर्ने सम्बन्धमा ७ दिन भित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।

त्यसैगरी बैठकले सरकारको प्रतिनिधिसभा विघटनको विरुद्ध गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समीक्षा गर्दै पुस १८ गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता श्रेष्ठले बताए ।

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ । यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए ।

समाचार वर्गहरू