नेकपालाई सभामुख टुंग्याउनै सकस, संसद् बैठक धकेलियो

22

राधा ढुंगाना/काठमाडौँ– शुक्रबारका लागि संघीय संसदको प्रतिनिधिसभाको बैठक बोलाईएपनि सुचना टाँस गरेर स्थगित गरियो । अर्को बैठक आगामी पुस १६ गते बस्ने छ । शुक्रबारको बैठकको कार्यसूची सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने थियो । तर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । सभामुखको विषय आजै टुंगो लागे उपसभामुखले राजीनामा दिने तयारी थियो । तर आजको बैठक ४ दिन पर धकेलियो ।

संसद सचिवालयकी कर्मचारी माथि बलत्कारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराले आसोज १४ गते पदबाट राजिनामा दिए । त्यसपछि रिक्त पदमा सभामुख कसलाई बनाउने भन्ने विषय नेकपामा बहसको विषय बन्दै आएको छ । तर नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन भने सकेको छैन । अध्यक्ष दाहाल अबको सभामुख पुर्व माओवादीका नेताले पाउनुपर्ने अडानमा छन् भने प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । यता दाहाललाई सभामुख नछाड्न पूर्वमाओवादीका नेताहरूको दबाव छ । सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाङ्फे आफै पनि छिन् । सभामुख चयन गर्दा महरा तत्कालीन नेकपा माओवादी पार्टीबाट सभामुख बनेका थिए भने तुम्बाहाङ्फे नेकपा एमालेको तर्फबाट उपसभामुख बनेकी थिइन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाउँदै आएको छ । संसदमा बहुमत रहेकाले सभामुख र उपसभामुख दुवै पद नेकपाले नै पाएको थियो । संविधानतः नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद छाड्नुपर्ने हो । संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । दुईमध्ये एकजना महिला र एकजना पुरुष हुनुपर्ने व्यवस्था पनि छ । पछि दुई दलको एकता भएपछि दुईमध्ये एक पद छाड्नुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन नै छ ।

नेकपा सभामुख पद छाड्ने पक्षमा नभएको नेताहरु बताउँछन् । नेकपाले सभामुख पद लिए नेकपा बाहेकका दलले उपसभामुख पाउने सम्भावना छ । सभामुख कस्लाई बनाउने भन्ने विषयमा नेकपा अल्झेको छ भने सभामुखको पद रिक्त हुँदा सभामुखले गर्ने कामहरु प्रभावित बन्दै आएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू