(काठमाडौं) – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अनुशासन आयोगको जिम्मेवारी अमृतकुमार बोहोरालाई दिएको छ । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको नेकपाको सचिवालय बैठकले बोहोरालाई अनुशासन आयोगको अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको हो ।
यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कंडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् । प्रवास संगठन गठनको विषयमा भने छलफल भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्री हेरफेरको विषयमा भने सचिवालय बैठकमा कुनै छलफल नभएको उनको भनाई छ । सरकारलाई काम गर्न थप सहज बनाउने उद्देश्यले मन्त्री हेरफेर गर्ने प्रस्ताव प्रधानमन्त्रीले पार्टीमा ल्याए छलफल गर्न सकिने उनको भनाई छ ।
नेकपामा अब प्रवास, महानगर कमिटीका इन्चार्ज र पोलिटब्यूरो गठन हुन बाँकी छ । श्रेष्ठका अनुसार यी काम पनि छिट्टै टुंग्याइने भएको छ ।